काठमाडौं, जेष्ठ ३२ गते । वाणिज्य बैंकहरुले असार एक गतेदेखि लागु हुने गरी नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन् । २० वटा वाणिज्य बैंकहरु मध्य ३ वटाले बढाएका छन, ६ वटाले जेष्ठ महिनाकै ब्याजदरलाई नै निरन्तरता दिएका छन् भने ११ वटा वाणिज्य बैंकहरुले जेष्ठको तुलनामा असार महिनामा निक्षेपको ब्याजदर घटाएका छन्।
वाणिज्य बैंकहरुको औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर असार महिनाका लागि ६.८७ प्रतिशत कायम भएको छ। जेष्ठ महिनामा ६.९९ प्रतिशत रहेको उक्त औसत ब्याजदर ०.१२ विन्दुले घटको हो ।
असार महिनाका लागि ब्याजदर बढाउनेमा नबिल बैंक, हिमालयन बैंक र माछापुच्छ्रे बैंक रहेका छन् ।
नेपाल बैंक, कृषि विकास बैंक, स्ट्यान्डर्ड चार्टड बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर जेष्ठ महिनाकैलाई निरन्तरता दिएका छन् ।
बाँकी ११ बैंकले ब्याजदर घटाएर प्रकाशित गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबीआई बैंक, प्राइम बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, एनएमबी बैंक, कुमारी बैंक र एनआईसी एसिया बैंकले ब्याजदर घटाएका हुन।
केन्द्रीय बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आगामी एक महिनाका लागि परिवर्तन गर्न नपाइने गरी अघिल्लो महिनाको अन्तिम दिनभित्रै ब्याजदर सार्वजनिक गर्नुपर्ने नियमकारी व्यवस्था छ । सोहि अनुरुप वाणिज्य बैंकहरुले आफ्नो ब्याजदर तालिका सार्वजनिक गरेका हुन् ।
अधिकांश बैंक तथा वित्तीय संस्थाले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जा माग नबढिकाले असार महिनाका लागि निक्षेपको ब्याज घटाएर प्रकाशित गरेका हुन् । हालका दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुको अपेक्षा अनुरुप कर्जा प्रवाह हुन सकेको छैन । यसैकारण बैंकहरुले ब्याजदर घटाएर भए पनि कर्जा प्रवाह बढाउने रणनीति रहेको देखिन्छ ।
केन्द्रीय बैंकले फागुन १ गतेदेखि नै स्थायी निक्षेप सुविधा (एसडीएफ) सुरु गरेपछि बैंकहरुले बचतको ब्याजदर न्यूनतम ३ प्रतिशत कायम गर्दै आएका छन् । सोही अनुरुप केन्द्रीय बैंकले यस्तो निक्षेप राखिदिएबापत बैंक तथा वित्तीय संस्थालाई ३ प्रतिशत ब्याजसमेत दिने गरेको छ । एसडीएफभन्दा तल ब्याज दिनेले यो सुविधा नपाउने नियमकारी व्यवस्था रहि आएको छ ।
त्यस्तै राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा पाँच प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । यसले गर्दा बचतको ब्याजदर पनि घट्न जानेछ । बचतको ब्याज घट्दा आधार दरमा कमी हुने भएकाले कर्जाको ब्याजदर स्वतः घट्ने र ऋणीले कम ब्याजरमा कर्जा पाउँछन् ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाले औषतमा अघिल्लो महिनाको तुलनामा अधिकतम १० प्रतिशत मात्रै ब्याजदर घटाउन वा बढाउन पाउने नियमकारी व्यवस्था रहिआएको छ। केन्द्रीय बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर भन्दा १ प्रतिशत बिन्दुसम्मले कम गरी तय गर्न पाउने व्यवस्था गरेको छ । पहिले यसको सीमा २ प्रतिशत विन्दु थियो। त्यस्तै रेमिट्यान्स मुद्दतीमा व्यक्तिगत मुद्दतीमाभन्दा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्ने नियमकारी व्यवस्था रहिआएको छ।



