बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको प्रति शेयर १०० रुपैयाँ अङ्कित मूल्यका ४५ करोड रुपैयाँ बराबरको ४५ लाख कित्ता साधारण शेयरको प्रत्याभुति नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र सनलाइफ क्यापिटलले गर्ने भएको छ।
बुधबार एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग, सनलाइफ क्यापिटल र बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेड बीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा त्रिपक्षीय हस्ताक्षर भएको हो।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, सनलाइफ क्यापिटलको तर्फबाट सञ्चालक राजकुमार अर्याल तथा बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिजको तर्फबाट अध्यक्ष नवराज बुर्लाकोटीले शेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा त्रिपक्षीय हस्ताक्षर गरेका हुन्। कम्पनीले कृषि एवं खाद्य सामाग्री उत्पादन, व्यापार तथा वितरण, सामुदायिक खेती, होटल तथा पर्यटन, कृषि, शिक्षा, र स्वच्छ उर्जा लगायत विविध क्षेत्रमा आफ्नो व्यावसायिक गतिविधि सञ्चालन गरिरहेको छ।





