काठमाडौँ — सरकारले दाल, गेडागुडी, धान र गहुँ आयातमा अग्रिम कर लगाएपछि व्यवसायीले खाद्यान्न आयात गर्न आलटाल गरेका छन् । १० प्रतिशत अग्रिम आयकरले स्वदेशी उद्योग व्यवसाय धराशायी हुने निष्कर्षसहित उनीहरूले आयातित गेडागुडी र खाद्यान्न भन्सार नाकामा राखेका छन् । खाद्यान्नको आपूर्ति प्रणालीमा ब्रेक लाग्दा बजारमा कालोबजारी सुरु भएको छ भने बजारभाउ उकालो लाग्न थालेको छ ।
सरकारले अग्रिम आय कर लगाउने निर्णय गरेलगत्तै होलसेल व्यवसायीले चामल र दालको मूल्य बढाएका छन् । थप मूल्य बढ्ने आकलन गर्दै उनीहरूले आयातकर्तासँग ७ देखि ८ प्रतिशत उच्च मूल्यमा खरिद गरेर सामान लुकाएका छन् । ‘आयातकर्ताले पनि भन्सारमा ल्याइसकेको खाद्यान्न छुटाएका छैनन्, त्यसको फाइदा उठाउँदै कालोबजारी सुरु भएको छ,’ एक होलसेल व्यवसायीले भने, ‘नयाँ सामान आइनसकेको अवस्थामा तत्काल भाउ बढ्नु नपर्ने हो । तर होलसेलमा मूल्य बढेको छ ।’ बजेट भाषणपछि मास, मुसुरो र चना आयात भएको छैन । यहाँ भने मूल्य बढाइएको छ । स्टक रहेकै सामानमा मूल्य बढाइएको छ ।


