काठमाडौं : बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको १० महिनामा करिब पाँच प्रतिशतमात्रै कर्जा विस्तार गरेका छन्। यस वर्ष साढे ११ प्रतिशतको कर्जा विस्तारको लक्ष्य थियो। कर्जा विस्तार निकै सुस्त भएकाले बाँकी दुई महिनामा लक्ष्य भेटन गाह्रो हुने विज्ञहरू बताउँछन्। त्यसैकारण, अबको मौद्रिक नीति खुकुलो आउनुपर्ने विज्ञहरूको सुझाव छ।
राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सरोकारवालाबाट सुझाव संकलन सुरु गरिसकेको छ। बैंकको आर्थिक अनुसन्धान विभागले जेठ २७ गते सार्वजनिक सूचना जारी गरी असार १६ गतेभित्र सुझाव दिन अनुरोध गरेको छ। प्रदेशमा रहेका विभिन्न निकायहरूसँग स्थानीय उद्यमशीलता प्रवद्र्धन गर्न के–के गर्नुपर्छ भनेर पनि सुझाव संकलन भइरहेको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्य बताउँछन्। ‘सुझावका आधारमा देशको अर्थतन्त्र, स्रोतसाधनलगायतलाई सामञ्जस्यता गरेर मौद्रिक नीतिले समेट्छ,’ उनले भने। गभर्नर महाप्रसाद अधिकारीले पनि विभिन्न सार्वजनिक कार्यक्रममा अर्थतन्त्र र बजेट अनुकूल मौद्रिक नीति आउने बताउँदै आएका छन्।



