काठमाडौँ — चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) मा वैदेशिक अध्ययनमा ९५ अर्ब ८५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम साढे ४२ प्रतिशतले बढेको राष्ट्र बैंकको गत चैतको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्षको ९ महिनामा यो शीर्षकमा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको थियो ।
पछिल्ला वर्षमा वैदेशिक अध्ययनका लागि नेपालबाट विद्यार्थीसँगै बाहिरिने विदेशी मुद्रा निरन्तर बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । विदेशमा अध्ययनसँगै काम र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको जानकार बताउँछन् । यसको सकारात्मक असर रेमिट्यान्स आप्रवाहमा पनि परेको उनीहरूको भनाइ छ ।


