नारायणगढ (चितवन), जेठ ३० गते । चितवनको भरतपुर महानगरपालिकामा वार्षिक ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार बढी विप्रेषण भित्रिने गरेको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो रकम भरतपुरबाट वैदेशिक रोजगारमा रहेका ३० हजार पाँच सय ५५ जनाबाट भित्रिएको विप्रेषण रकम हो ।
सामी कार्यक्रम हेल्भेटास (नेपाल सरकारको सहकार्यमा काम गरिरहेको संस्था)की संयोजक उमा पौडेलका अनुसार एक व्यक्तिले औषतमा मासिक ३२ हजार छ सय ४३ दशमलव ६५ विप्रेषण पठाइरहेका छन् । आएको विप्रेषणमध्ये ७३ प्रतिशत ऋण तिर्न, घरखर्च, खाद्यान्न, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेको पाइएको उहाँले बताउनुभयो । वैदेशिक रोजगारमा रहेका ३० हजार पाँच सय ५५ जनाका २९ हजार एक सय ७७ परिवारले एक वर्षमा करिब १२ अर्ब विप्रेषण प्राप्त गर्ने गरेका संयोजक पौडेलले जानकारी दिनुभयो ।



