काठमाडौं : चालु आर्थिक वर्षको सुरुवातदेखि नै बाह्य क्षेत्रमा सुधार देखिँदै आएको छ। तर सोही तुलनामा आन्तरिक अर्थतन्त्र भने अझै अपेक्षाअनुसार माथि उठ्न सकेको छैन। यो स्थितिलाई नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८०/०८१ को १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले पनि पुष्ट्याएको छ।
महिनैपिच्छे रेमिट्यान्सको गति बढेको छ। रेमिट्यान्स १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। यो अमेरिकी डलरमा १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको हो। अर्कोतर्फ यस अवधिसम्म खुद प्रत्यक्ष वैदेशिक लगानी झिनो अर्थात् ६ अर्ब ९८ करोड रुपैयाँले धनात्मक रहन पुगेको छ। अझ आयातबाट बाहिरिने रकम नियन्त्रण भएको छ। यसो हुँदा चालु खाता १ खर्ब ९३ अर्ब २५ करोड रुपैयाँले बचतमा छ। जबकि गत आवको सोही अवधिमा ६३ अर्ब ७४ करोडले घाटामा रहेको थियो। यस्तै, देशबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने मुद्रा बढ्दा शोधनान्तर स्थिति निरन्तर बचतमा छ। यस अवधिसम्म शोधनान्तर ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा छ।



