नेपाल कृषिप्रधान देशको पहिचान बनाएको मुलुक भएकाले कृषिको विकासमा जोड दिनुपर्ने आवश्यकता छँदै छ । पछिल्लो समय क्रमशः कृषिजन्य उत्पादन घट्दै गएको तथ्यांकले देखाएको छ । हाम्रो कृषिमा निर्भर रहने जनसंख्या पनि बर्सेनि घट्दै गएको देखिन्छ । यसका पछाडि अनेकौं कारण छन् । कृषिलाई व्यावसायिक र मर्यादित पेसाको रूपमा विकास गर्न राज्यले प्रभावकारी कार्यसम्पादन गर्न भने सकेको छैन ।
आम युवा जनशक्ति रोजगारीको खोजीमा बिदेसिने प्रवृत्ति बढेकाले पनि श्रमिकको नै अभाव छ । आज ग्रामीण क्षेत्रमा वृद्धवृद्धा र बालबालिका मात्र रहेको अवस्था छ । युवा श्रमशक्तिको अभाव पनि एक प्रमुख कारण बनेको छ, कृषिको उत्पादन कम हुन जानुको । उर्वर जमिन पनि बाँझो रहने अवस्थाको समाधानका लागि अब विशेष कार्यक्रमसहित अगाडि बढ्नुपर्ने आवश्यकता टड्कारो देखिन्छ । विगत दुई दशकअगाडिसम्म हामीले भारतमा धान निर्यात गर्ने गरेका थियौं ।



