काठमाडौँ — ऐन जारी भएको करिब ७ वर्षसम्म पनि वस्तु विनियम (कमोडिटी) बजार सञ्चालन हुन सकेको छैन । नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण गर्न नसक्दा ०७४ भदौदेखि कानुनी रूपमा कुनै पनि एक्सचेन्ज कम्पनी सञ्चालनमा छैनन् । ऐनमा वस्तु बजारको नियमन धितोपत्र बोर्डले गर्ने उल्लेख भए पनि अझै नियमन हुन नसकेको हो ।
यद्यपि धितोपत्र बोर्डले हरेक वर्षको नीति तथा कार्यक्रममा वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने बताउँदै आएको छ । ०७४ पछिका हरेक नीति तथा कार्यक्रममा उक्त वाक्यांश दोहोरिँदै आए पनि व्यवहारमा अझै यो बजार सञ्चालन हुन सकेको छैन । अनौपचारिक रूपमा भने अहिले पनि कमोडिटी एक्सचेन्ज कम्पनी सञ्चालन भइरहेका छन् । यस्तो अवस्थामा न त बोर्ड ती कम्पनीलाई कारबाही नै गर्न सकेको छ, न नयाँ एक्सचेन्ज कम्पनीलाई लाइसेन्स दिन नै ।


