सुवास निरौला
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन खाता सित्तैमा खुल्छ। सबै ब्रोकर कम्पनीले सो सुबिधा दिएका छन्।
तर बजारमा सित्तैमा खुल्ने टिएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) खाता खोल्न आम सर्वसाधारणसँग तीन सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ। त्यो पनि खुलेआम विज्ञापन गरेर। जबकि कुनै पनि ब्रोकर कम्पनीले टिएमएस खाता खोल्ने विज्ञापन गर्न पाउँदैनन्। उनीहरूलाई शेयर किनबेच गरिदिने भन्ने आशयको विज्ञापन गर्न बन्देज छ। तर अहिले टिएमएस खाता खोलिदिने भन्ने विज्ञापन सामाजिक सञ्जालमा जताततै सहजै देख्न सकिन्छ। खासगरि त्यस्ता विज्ञापन ब्रोकर कम्पनीले भन्दा पनि तेस्रो व्यक्तिले गरिरहेका छन्। जबकि धितोपत्रसँग सम्बन्धित काम गर्न धितोपत्र बोर्डको अनुमति चाहिन्छ। धितोपत्र बोर्डको अनुमति प्राप्त संस्थाहरूले मात्रै धितोपत्रसँग सम्बन्धित कार्य गर्न पाउँछन्। धितोपत्र बोर्डको अनुमति बेगर कुनै पनि व्यक्ति वा संस्थाले त्यस्तो कार्य गर्नु भनेको गैर कानुनी हो। जुन कसैले पनि गर्नु हुँदैन।





