नेपाल राष्ट्र बैंकको गभर्नर बन्नको लागि दौडधुप शुरु गर्नासाथ सिए सुबोधकुमार कर्णमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोहोरो कारवाही प्रकृया शुरु गरेको छ ।
एउटा छानविन राष्ट्र बैंकको संचालक रहँदा गरेको घुस लेनदेन प्रकरणसँग सम्वन्धित छ भने अर्काे छानबिन उनले गरेको लेखापरिक्षणमा भेटिएको ‘कैफियत’ सँग सम्वन्धित छ ।
विसं २०७५ बैशाखदेखि ८० बैशाखसम्म ५ वर्ष राष्ट्र बैंकको संचालक रहेका कर्ण नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पूर्वअध्यक्ष तथा साउथ एशिएन फेडेरेशन अफ एकाउन्टेन्ट्स (साफा) का पूर्वअध्यक्ष पनि हुन् ।
अख्तियारले बुधबार सार्वजनिक सूचना जारी गरी कर्णलाई बयानको लागि ३० दिनभित्र उपस्थित हुन आदेश दिएको छ । बयानको लागि पटक पटक ताकेता गर्दा पनि उपस्थित नभएकोले सार्वजनिक सूचना जारी गरिएको र यो अवधिमा पनि उपस्थित नभए वारेण्ट जारी गरेर पक्राउ गरिने अख्तियार स्रोतले जानकारी दिएको छ । कर्णमाथि अहिले अख्तियारले एकसाथ दोहोरो छानविन गरेको छ ।
राष्ट्र बैंक सञ्चालक समितिको सदस्य हुँदा कर्णले एक व्यवसायिक घरानासँग ३० हजार डलर घुस मागेको समाचार सार्वजनिक भएको थियो । समाचारअनुसार दुई बैंकबीच मर्जरका क्रममा कर छूट भन्दै कर्णले बार्गेनिङ गरेका थिए ।



