काठमाडौँ — प्रतिनिधिसभाले सुरक्षण मुद्रणसम्बन्धी विधेयक पारित गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकबाट सुरक्षण मुद्रण विधेयक पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका छन् ।
राष्ट्रिय सुरक्षासँग जोडिएका विभन्नि ६ प्रकारका सरकारी कागजात सुरक्षित मुद्रण केन्द्रबाट नै छपाई गर्ने व्यवस्था यो विधेयकमा गरिएको छ । नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमतिपत्र केन्द्रबाट मात्रै छपाइ गर्ने व्यवस्था विधेयकमा गरिएको छ ।
राष्ट्रिय सभाबाट पारित हुँदा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोटमात्र सुरक्षित मुद्रण केन्द्रले छपाइ गर्ने व्यवस्था गरिएको भने प्रतिनिधिसभाले अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमतिपत्र पनि केन्द्रले नै छपाइ गर्ने व्यवस्था गरेको छ । यो विधेयकमा प्रतिनिधिसभाले गरेका संशोधन स्वीकार गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइनेछ । राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयकलाई प्रतिनिधिसभाले पनि पारित गरेकाले अब प्रमाणीकरण भएपछि कार्यान्वयनमा जानेछ ।


