काठमाडौं : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग छलफल गरेको छ । कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटेको हो ।
भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता उपलब्ध गराउने विषयमा छलफल भएको थियो । आईएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई ईसीएफअन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो । जसमध्ये यसअघि नै तेश्रो किस्ता निकाशा भइसकेको छ भने अन्तिम अर्थात चौथो किस्ताबापत ५ अर्ब ५९ करोड (४२ मिलियन अमेरिकी डलर) उपलब्ध गराउन बाँकी छ ।



