कञ्चनपुर — बेलौरी नगरपालिका–१० भुडाका दिलाराज पन्तले २०५५ सालमा राष्ट्रिय वाणिज्य बैंकमा १५ कठ्ठा धितो राखेर २ लाख रुपैयाँ ऋण लिएका थिए । तीन वर्षमा ऋण चुक्ता गरेका उनले दुई वर्षपछि सोही जग्गा बैंकमा राख्न खोजे । तर सीमा क्षेत्रको जग्गा भनेर कुनै पनि बैंकले ऋण दिन मानेनन् । ‘कुनै बेला त्यही जग्गा धितो राखेर ऋण दिन मिल्ने कुनैबेला नमिल्ने, यो कस्तो नियम हो ?’ पन्तले भने ।
अहिले स्थानीय तहको केन्द्रमा बैंकहरू खुल्ने क्रम बढे पनि पन्तजस्ता नेपाल–भारत सिमानाको छेउछाउका जग्गा भएकाहरू अझै लाभान्वित हुन सकेका छैनन् । भुडाकै टोपबहादुर चन्दले ५ वर्षअघि छोरा विदेश पठाउन खोज्दा पनि यस्तै समस्या भोगे । दशगजासँगै जोडिएको उनको आधा बिघा जमिन बैंकहरूले धितो राख्न मानेनन् । छोरा विदेश पठाउन करिब १० लाख चाहिन्थ्यो । कुनै उपाय नभएपछि सस्तैमा जमिन बेचे ।


