काठमाडौं : सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यसँगै जारी गरेको आर्थिक ऐनका धेरै ठाउँमा त्रुटिहरू दोहोरिएको सरोकारवालाले औंल्याएका छन्। हरेक दफालाई क्रिटिकल्ली हेर्दा कहीँ न कहीँ त्रुटिहरू देखिएको करविज्ञ तथा चार्टर्ड एकाउन्टेन्टहरूले टिप्पणी गरेका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले आयोजना गरेको बजेटपछिको छलफलमा उनीहरूले आर्थिक ऐनमाथि त्रुटिपूर्ण भन्दै टिप्पणी गरेका हुन्।
राज्यले कानुन बनाउँदा धेरै तयारी नगरेकाले यस्ता त्रुटि देखिएको सीए शेषमणि दाहाल बताउँछन्। संशोधनको हिसाबले धेरै नै सादा बजेट आयो। प्रायः आयकर, मूल्य अभिवृद्धि कर (भ्याट)मै चुहावट हुने गरेकाले हरेक वर्ष बजेटमार्फत टालिनुपर्नेमा यसो नभएको बताउँछन् सीए दाहाल।



