जेठयता बैंक तथा वित्तीय संस्थाको निक्षेप औसतमा दैनिक २ अर्ब रुपैयाँले बढिरहेको छ। बैशाख अन्तिमसम्ममा ६१ खर्ब ८६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप जेठ १७ गतेसम्ममा ६२ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ।
जेठ महिनाको पहिलो १७ दिनमा निक्षेप ३३ अर्ब रुपैयाँले बढेको छ। यो निक्षेप औसतमा दैनिक १ अर्ब ९४ करोड रुपैयाँले बढेको हो।
पछिल्लो समय सरकारी खर्च बढ्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन निरन्तर बढेको हो। अहिले अघिल्ला महिनाहरुको तुलनामा निक्षेपको बृद्धिदर अझै बढेको छ।
यता कर्जा लगानी भने निक्षेपको तुलनामा आधा पनि बढ्न सकेको छैन। बैशाख अन्तिमसम्ममा ५१ खर्ब १३ अर्ब रुपैयाँ रहेको कर्जा लगानी १७ दिनमा बढेर ५१ खर्ब २३ अर्ब पुगेको छ। यो १७ दिनमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी १० अर्ब रुपैयाँले मात्र बढेको छ। जुन औसतमा दैनिक ५८ करोड रुपैयाँले कर्जा बढेको देखिन्छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षमा साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेपनि हालसम्म ४.८२ प्रतिशत मात्रै कर्जा विस्तार भएको छ। यस आधारमा राष्ट्र बैंकले राखेको लक्ष्यभन्दा आधा पनि कर्जा विस्तार नहुने निश्चित भएको छ।



