काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा यो वर्ष राजस्व असुली १२ खर्ब ६० अर्ब रुपैयाँ पुग्ने बताएका छन् । जेठ १५ मा संसद्को संयुक्त सदनमा आगामी वर्षको बजेट सार्वजनिक गर्ने क्रममा मन्त्री पुनले चालु आवमा १२ खर्ब ५३ अर्ब रुपैयाँ राजस्व संकलन हुने संशोधित अनुमान गरिएको बताएका थिए ।
अर्थमन्त्रीले जस्तो अनुमान लगाए पनि गत वैशाखसम्मको राजस्व असुली, वृद्धिदर लगायतलाई हेर्दा यो वर्ष अधिकतम १० खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन हुने देखिन्छ । सरकारले चालु वर्षको बजेट बनाउँदा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व असुली हुने अनुमान गरेको थियो । वर्षका १० महिना अर्थात् वैशाख मसान्तसम्म ८ खर्ब ३१ अर्ब रुपैयाँमात्र असुली भएको छ । यो लक्ष्यको ८८ प्रतिशत हो । चालु आवका १० महिनाको राजस्व असुलीलाई औषतमा हेर्दा प्रतिमहिना ८३ अर्ब रुपैयाँले असुली भएको छ । अबका बाँकी दुई महिनामध्ये जेठमा औषत दरभन्दा धेरै राजस्व असुली हुनेछैन ।



