काठमाडौं महानगरपालिका कार्य क्षेत्र भइ सम्पर्कमा नआएका करिब ९०० वटा सहकारीको दर्ता खारेजी गर्न विज्ञले सुझाव दिएका छन् ।
‘पहिले परिपत्र गर्नु, त्यसको जवाफ प्राप्त भएन भने ठेगाना उल्लेख गरेर सञ्चालक, सदस्य, बचतकर्ताका नाममा सम्पर्क गर्न सार्वजनिक सूचना जारी गर्नु, यति गर्दा पनि कोही सम्पर्कमा आएनन् भने खारेजीको प्रक्रियामा लैजानू,’ सहकारीविज्ञ काशिराज दाहालले भने, ‘यो सहकारी समस्या समाधानका लागि थाल्नुपर्ने प्रक्रिया हो ।’
उक्त प्रक्रिया अवलम्बन गर्न थालेपछि सरोकारवाला सम्पर्कमा आउने र सञ्चालक नआए बचतकर्ता सम्पर्कमा आउने उनले बताए । बचतकर्ताको सम्पर्कबाट सञ्चालक भेटिने ठाउँमा पुग्न सहयोग पुग्ने शनिबार महानगरपालिकाले सहकारी विभागले आयोजना गरेको ‘सहकारी उत्थानका लागि अध्ययन, अनुसन्धान’ विषयक कार्यक्रममा दाहालले बताएका हुन् ।


