काठमाडौं– बजेट आउनुभन्दा एक दिनअघि सोमबार २११३.२५ विन्दुमा पुगेको नेप्से परिसूचक बजेटपछिका दुई दिनमा ४३.७२ विन्दुले घटेको छ । बजार यसरी घट्नुमा कतिपयले आगामी आवको बजेटमा सेयर बजारबारे नीति नआउनु समेत कारण भएको बताएका छन् । कतिपयले भने यसलाई ‘करेक्सन’को रुपमा लिएका छन् ।
बजेट आउनुअघि आइतबार २१०९.३५ विन्दुमा रहेको परिसूचक सोमबार सार्वजनिक हुने बजेट बजारमैत्री आउने लगानीकर्ताको अपेक्षाका कारण बढेर २११३.२५ विन्दुमा पुगेको थियो । अघिल्लो साताको अन्तिम कारोबार दिन बुधबार भने २१३१.४९ विन्दुमा सेयर बजार पुगेको थियो । मौद्रिक नीतिको चालु आवको तेस्रो त्रैमासको समीक्षापछि सेयर बजार निरन्तर बढ्दै गएकोमा बजेटपछिका दुई दिन सेयर बजारमा गिरावट आएको । यद्यपि बुधबार र बिहीबार सेयर बजारमा देखिएको गिरावट केवल ‘करेक्सन’ मात्रै भएको जानकारहरू बताउँछन् ।





