सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको छ। प्रत्येक वर्ष सरकारले ल्याउने बजेटबारे नागरिकहरूको मिश्रित प्रतिक्रिया आउने गर्छ। पछिल्लो समय बजेट भाषण सुन्नेतर्फ आमनागरिकको त्यति चासो देखिँदैन। देशमा बढ्दो निराशाले गर्दा नागरिक सरकारले दिने सेवाप्रति सन्तुष्ट छैनन्। बिगतमा घन्टौं बसेर बजेट भाषण सुन्ने प्रवृत्ति पनि घट्दै गएको देखिन्छ। बजेट आइसकेपछिको चहलपहल र प्रतिक्रिया पनि पातलिएको छ।
तलब बढ्छ भनेका शिक्षकहरू निराश भए
अन्य आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा तलब बढ्छ भन्नेमा देशभरका शिक्षकहरू आशावादी थिए। किनभने यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा छ। उक्त पार्टीले आफ्नो घोषणा पत्रमै भनेको थियो अन्य कर्मचारीहरूको तुलनामा शिक्षकहरूको तलब १ रुपैयाँ भए पनि धेरै हुनुपर्छ। किनभने शिक्षकहरू बिना यो देशको समृद्धि कल्पना पनि गर्न सकिँदैन। तर, सोँचेअनुसार शिक्षकहरूको आशा पूरा भएन। शिक्षकहरू निराश भए। रास्वपाले बोलेको र आएको बजेटबीच तालमेल भएको देखिएन।



