काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-८२ को बजेटमा औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने घोषणा गरेपछि अभियन्ताहरू निकै उत्साहित भएका छन् । अर्थमन्त्री पुनले मंगलबार संसद् बैठकमा पेस गरेको बजेटको २९ बुँदामा औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने उल्लेख छ ।
अर्थमन्त्रीको सो घोषणालाई अधिकांश सांसदले टेबुल ठोकेर समर्थन गरेका थिए । २०३३ सालदेखि नेपालमा प्रतिबन्धित भएको गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने सम्बन्धमा प्रतिनिधि सभामा सांसदहरूले समयसमयमा कुरा उठाउँदै आएका थिए । हिप्पी संस्कृतिका अमेरिकीहरू ०१७÷१८ सालतिर घुम्न आउँदा काठमाडौँमा रमाइलो गर्ने, आनन्द लिने उद्देश्यले गाँजा सेवन गर्न थालेपछि बिस्तारै यसले व्यापकता लिएको पाइएको छ । तिनीहरू धेरै समय काठमाडौँमै बिताउने भएपछि सरकारले सीमित पसललाई गाँजा बिक्रीको इजाजतपत्र दिएको थियो ।



