काठमाडौँ, जेठ १६ गते । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कृषिको बजेट घटाएको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक गर्नुभएको आगामी आव २०८१/८२ को बजेट अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपियाँ विनियोजन गरेको छ ।
चालु आवको तुलनामा आगामी आवमा एक अर्ब ६९ करोड बजेट कम दिएको छ । चालु आवका लागि ५८ अर्ब ९८ करोड रुपियाँ विनियोजन गरेको थियो । अगामी आवको बजेटमा प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका लागि दुई अर्ब ९८ करोड विनियोजन गरेको छ । यो परियोजनाको बजेट पनि घटाएको छ । चालु आवका लागि तीन अर्ब २२ करोड छुट्याइएको थियो ।



