पूँजी बजारमा बिदेशी लगानी भित्र्याउने बहस चलेको धेरै भइसकेको छ। हरेक वर्षको बजेटमा पूँजी बजारमा बैदेशिक लगानी भित्र्याउने विषय समेटिदै आएको छ। हरेक अर्थमन्त्रीले बजारमा बैदेशिक लगानी भित्र्याउने विषय समेट्दै आएका छन्।
तर आगामी आर्थिक वर्षको बजेटमा भने दोस्रो बजारमा बैदेशिक लगानी भित्र्याउने विषय उल्लेख नै भएन। सरकारको नीति तथा कार्यक्रममा यसअघि भएका अध्ययनहरुको सुझावलाई क्रमश कार्यान्वयन गर्दै लैजाने भनेपनि बजेटले भने पूँजी बजारलाई धेरै स्थान दिएको देखिएन्। यसअघिका धेरै अध्ययनहरुले बैदेशिक लगानी भित्र्याउन सुझाव समेत दिएका छन्। तर त्यस विषयलाई भने अर्थमन्त्रीले त्यति प्राथमिकतामा राखेको पाइदैन।
चालु आर्थिक वर्षको बजेटमा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले गैर आवासीय नेपालीलाई धितोपत्र बजारमा सूचीकृत भएका जलविद्युत र अन्य वास्तविक क्षेत्रका कम्पनीमा लगानी गर्न खुल्ला गर्ने व्यवस्था मिलाइने उल्लेख गरेका थिए। सोहि अनुसार धितोपत्र बोर्डले जलविद्युत कम्पनीहरुमा बैदेशिक लगानी भित्र्याउने विषयमा अध्ययन समेत गर्यो। तर बजारमा बैदेशिक लगानी भने भित्रिन सकेन। अहिले सो विषय सेलाएर नै गएको छ।
नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको बजेटमा गैर आवासीय नेपालीलाई पूँजी बजारमा भित्र्याउनको लागि विद्यमान कानुनी व्यवस्थामा संशोधनलगायत आवश्यक थप व्यवस्था गर्न सुझाव दिएको थियो। “नेपालको पूँजी बजारमा दक्ष तथा अनुभवी र ठूलो परिमाणमा लगानी गर्न सक्ने लगानीकर्ताको प्रवेश गराई बजारको गतिशीलता तथा स्थायित्व अभिवृद्धि गर्न स्वदेशी संस्थागत लगानीकर्ताको संलग्नता बढाउनुका साथै गैर आवासीय नेपालीलाई धितोपत्र बजारको दोस्रो बजार खुला गर्न विद्यमान कानुनी व्यवस्थामा संशोधनलगायत आवश्यक थप व्यवस्था गर्नुपर्ने,” सुझावमा भनिएको छ। तर अर्थमन्त्री पुनले भने धितोपत्र बोर्डले दिएको सुझावलाई समेत बेवास्ता गर्दै बजारमा बैदेशिक लगानी भित्र्याउने कुरा उल्लेख नै गरेनन्।



