गोरखा : धेरै प्राचीन बजार हो आरुघाट। गोरखा सदरमुकामबाट ४२ किलोमिटर उत्तर, प्रसिद्ध मनास्लु पदमार्गमा अवस्थित आरुघाटमा ३ सय २८ वर्षअघि बजार बसेको प्रमाण आरुघाटवासीसँग छ। कुनै बेला सदरमुकाम गोरखाबजारभन्दा ठूलो व्यापारिक केन्द्र भनेर आरुघाटलाई चिनिन्थ्यो। तर, जब १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना बन्ने चर्चा चल्न थाल्यो, तब यो बजार क्रमशः उठ्न थाल्यो।
राजमार्ग नखुल्दै गोरखा र यसभन्दा पश्चिमका पहाडी जिल्लाबाट राजधानी छिर्ने मूलबाटोमा पर्ने आरुघाटको पहिचान ऐतिहासिक छ। पोखरादेखि काठमाडौं जाने मूलबाटोमा पर्ने अरू बजारभन्दा तुलनात्मक रूपमा ठूलो भएको हुँदा सयौं वर्षदेखि यसको परिचयको घेरा फराकिलो थियो।



