अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा करका दर हेरफेर गर्दैछन् । आज करको दर हेरफेर गर्ने तयारीमा अर्थमन्त्री लागेका छन् ।
अर्थमन्त्री पुनले भोलि अर्थात जेठ १५ गते संघीय संसदको दुवै सदनमा बजेट पेश गर्दैछन् । सामान्यता हरेक बजेटमा करका दरहरु परिवर्तन गर्ने गरिन्छ ।
यसअघिका दुई अर्थमन्त्रीले व्यापारीक छविका व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएर करका दर परिवर्तन गरेको भन्ने आरोप लागेपछि निकै पछिसम्म त्यस्तो आरोपको खन्डन गर्नु परेको थियो । तर, भोलि ल्याइने बजेटमा करका दर परिवर्तन गर्ने तर आलोचना नहुने किसिमले हेरफेर गर्ने अन्तिम तयारीमा अर्थमन्त्री पुन पुगेका छन् ।
अघिल्ला लगातार दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा करका दर परिवर्तन गर्दा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र डा.प्रकाशशरण महत निकै आलोचित भए । शर्माका पालामा त छानबिन आयोग नै गठन गरी अध्ययन गर्नुपरेको थियो ।
पूर्वअर्थमन्त्रीद्धयले निकैपछिसम्म त्यस्तो आलोचनाको मुकाबिला गर्नु परेको थियो । तर, यसपाली निकै सावधानी अपनाएर अर्थमन्त्री पुनले करका दर परिवर्तन गर्न लागेका छन् ।
अर्थमन्त्री पुन नयाँ बजेटमा परिवर्तन हुने करका दरमा लाग्ने आरोपबाट बच्न नयाँ ‘ट्रिक’ लगाउँदै छन् । करका दरको औचित्य र आवश्यकता पुष्टि गर्न तीन महले बनाइएको छ ।
यसले अर्थमन्त्री र मन्त्रालयमाथि आउने अपजसलाई तथ्यले पुष्टि गर्न सहयोग पुग्ने छ । यसले अर्थमन्त्री र मन्त्रालयमाथि आउने अपजसलाई तथ्यले पुष्टि गर्न सहयोग पुग्ने छ ।
ईभी (विद्युतीय सवारीसाधन) मा कर परिवर्तन भयो भने त्यसले राजस्वमा के असर पर्छ, रोजगारी सिर्जना र अर्थतन्त्रमा के असर पर्छ र स्वास्थ्यमा के असर पर्छ भनेर समेत बुझाउने कोसिस गरिएको छ । विगतमा मुहानमै प्रश्न उठेको भन्दै यसपालि त्यस्तो वातावरण बन्न नदिने अर्थमन्त्री पुन लागि पर्दै आएका छन् ।



