आर्थिक वर्षको अन्तिममा बैंकहरुमा अझै बढ्दै छ अधिक तरलता, कर्जा लगानीमा देखिएन सुधार


  • Himalayan Bank Limited (HBL)
आर्थिक वर्षको अन्तिममा बैंकहरुमा अझै बढ्दै छ अधिक तरलता, कर्जा लगानीमा देखिएन सुधार

आर्थिक वर्षको अन्तिममा बैंक तथा वित्तीय संस्थामा अधिक तरलता झनै बढ्दै गएको छ। सरकारी खर्च बढेको कारण बैंकहरुमा निक्षेप बढ्दै गएको छ तर कर्जा लगानी सुस्त नै छ। यसले गर्दा बैंक तथा वित्तीय संस्थामा तरलता झनै बढ्दै गएको हो।

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार जेठ ८ गतेसम्ममा बैंक तथा वित्तीय संस्थामा ७६ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ। जेठ ७ गतेसम्ममा ८५ अर्ब अधिक तरलता थियो।

केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापनको लागि स्थायी निक्षेप सुविधा कार्यान्वयनमा ल्याएपनि त्यो प्रभावकारी देखिएको छैन। बैंकहरुले स्थायी निक्षेप सुविधा प्रयोग गरी ४१ अर्ब २० करोड रुपैयाँ राष्ट्र बैंकमा राखेका छन्।

अर्कोतर्फ राष्ट्र बैंकले निक्षेप संकलन उपकरण जारी गरी ८६ अर्ब २० करोड रुपैयाँ बैंकहरुबाट उठाएर राखेको छ। शुक्रबार पुन ३५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ। यसले अहिले नै बैंकहरुमा २ खर्ब बढीको अधिक तरलता रहेको देखाउँछ।

बैंकहरुमा निक्षेप बढिरहेको छ तर कर्जा लगानीमा सुधार आउन सकेको छैन। यसले गर्दा सिडि रेशियो पनि निरन्तर घट्दै गएको छ। सरकारले स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न नदिने निर्णय गरेपछि केहि बढेको सिडि रेशियो फेरि ८० प्रतिशतमै झरेको छ।

जेठ ७ गतेसम्ममा बैंकहरुको औसत सिडि रेशियो ८०.३२ प्रतिशतमा झरेको छ। यसले बैंकहरुसँग ६ खर्ब बढी लगानीयोग्य रकम थुप्रिएको देखाउँछ। अधिक तरलताकै कारण बैंकहरुको अन्तरबैंक ब्याजदर समेत निरन्तर ३ प्रतिशतभन्दा तल बसिरहेको छ।

Read More