अहिले झापामा चम्किएका राजमार्ग वरिपरिका दर्जनौं सहर-बजार बीसको दशकमा लगभग सुनसान जस्तै थिए। किनभने त्यो बेला राजमार्ग नै थिएन। जब २०२८/२९ सालमा पूर्व-पश्चिम राजमार्ग बन्यो, उत्तर गुलजार बन्यो, दक्षिणतिरका बजार सुक्दै गए।
राजमार्गबाट बिर्ताबजार मोडिने ठाउँलाई बिर्तामोड भनिन्थ्यो। राजमार्ग चल्न थालेपछि बिस्तारै त्यही 'मोड' चम्कियो र बिर्ताबजारलाई धराशायी बनायो।
अहिले झापा मात्रै नभएर सुदूर पूर्वी जिल्लाका समेत प्रमुख व्यापारिक केन्द्र बनेको छ बिर्तामोड। बिर्तामोडको चमकधमकको यो कथामा पछिल्लो 'मोड' भने गिरीबन्धु टी-इस्टेटको हो। जसको चर्चा अहिले देशव्यापी छ।



