काठमाडौँ — नेपालका सात प्रदेशमध्ये आर्थिक वृद्धिदरका हिसाबले सबैभन्दा अगाडि गण्डकी प्रदेश देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रतिवेदनले चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा धेरै ४.२३ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको हो ।
उपभोक्ता मूल्यमा भने यस प्रदेशको आर्थिक वृद्धिदर ४.५५ प्रतिशत हुने अनुमान छ । यसैगरी, चालु आर्थिक वर्षमा गण्डकीपछि धेरै आर्थिक वृद्धिदर हुने प्रदेश लुम्बिनी रहेको छ । यस वर्ष आधारभूत मूल्यमा यो प्रदेशको आर्थिक वृद्धिदर ३.६९ प्रतिशत हुने देखिएको छ ।


