काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सहकारीको रकम ठगीविरुद्ध संसद्देखि सडकसम्म आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । कांग्रेसले लामो समयदेखि संसद्मा सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै सदन अवरुद्ध गर्दै आएको छ ।
बुधबार कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले आन्दोलनका कार्यक्रम थप सशक्त बनाउँदै लैजाने निर्णय गरेको हो । कांग्रेसले भोलि (शुक्रबार) काठमाडौंको भृकुटीमण्डपमा आन्दोलन गर्ने निर्णय गरेको छ । कांग्रेसले आफ्नो निर्णयमा सहकारीका बचतकर्ताको बचत फिर्ता र ठगीमा संलग्नमाथि कारबाही माग गरेको छ । मुलुकभरका सहकारीपीडितलाई एकजुट बनाएर कांग्रेसले सडक संघर्ष गर्ने बताएको छ । त्यसका लागि कांग्रेसले प्रदेश र जिल्ला केन्द्रित कार्यक्रम पनि गर्दै जाने बताएको छ । गृहमन्त्री लामिछानेले सहकारीको करोडौं रुपैयाँ अपचल गरेको प्रमाणसहितको तथ्य बाहिर आउँदा पनि नेकपा एमाले र लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू संसदीय छानबिन बनाउनबाट पन्छिँदै आएको आरोप कांग्रेसले लगाएको छ । सहकारी बचतकर्ताको रकम अपचलन गर्नेलाई गृहमन्त्रीमा राखेकामा कांग्रेसको आपत्ति छ ।



