नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको क्याप नहटाउदा पनि मासिक १ अर्बभन्दा बढीको कर्जा शेयर बजारमा जान थालेको देखिएको छ। चालु आर्थिक वर्षको ९ महिनाको तथ्याँक अनुसार लगानीकर्ताले बैंकबाट औसतमा मासिक अर्बभन्दा बढीको कर्जा लिएर शेयर बजारमा लगानी गरिरहेका छन्।
नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार गत चैत महिनामा मात्रै लगानीकर्ताले ४८ करोड कर्जा लिएका छन्। यसअघि फागुन महिनामा ५२ करोड, माघ महिनामा १ अर्ब शेयर धितो कर्जा गएको छ। पुसमा पनि ३ अर्ब बढी कर्जा गएको थियो।
चालु आर्थिक वर्षको ९ महिनामा ९ अर्ब ६५ करोड रुपैयाँका शेयर धितो कर्जा गएको छ। जुन औसतमा मासिक १ अर्ब ७ करोड रुपैयाँ हुन्छ। यसले लगानीकर्ताले अहिले औसतमा मासिक १ अर्बभन्दा बढी कर्जा लिएर शेयर बजारमा लगानी गरिरहेको देखाउँछ।
गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ७६ अर्ब ३० करोड रुपैयाँ शेयर धितो कर्जा दिएका थिए। चैतसम्ममा ८६ अर्ब १८ करोड रुपैयाँ कर्जा दिएका छन्।
नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा ४-१२ करोडको क्याप लगाएपछि शेयर धितो कर्जा निरन्तर घट्दै गएको थियो। अहिले राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको क्याप पुरै नहटाएपनि उक्त नीति केहि खुकुलो बनाउँदै लगेपछि यस्तो कर्जा बढ्न थालेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ५० लाखसम्मको शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गरेको थियो। पहिलो त्रैमासिक समीक्षामा पनि सबै शेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरेको थियो भने सीमा पनि बढाएर व्यक्तिगतलाई १५ करोड र संस्थागतलाई २० करोड बनाएको थियो। त्यसले पनि शेयर धितो कर्जा बढ्न थालेको हो। अहिले शेयर बजार सकारात्मक देखिदा पनि लगानीकर्ताले शेयर धितो कर्जा बढाएका छन्।
लगानीकर्ताले कर्जा थप्दै जाँदा ठूलो कर्जा बढेको छ। चालु आर्थिक वर्षमा १ करोडमाथिको कर्जा धेरै बढेको छ।



