काठमाडौं । सरकार आगामी आर्थिक वर्ष (आव) को बजेट पेश गर्ने तयारीमा रहेका बेला उसले चालू आव २०८०/८१ मा घोषणा गरिएको एक कार्यक्रम कार्यान्वयन शुरू गर्न खोजेको छ । चालू आव सकिन २ महीनाभन्दा कम समय बाँकी रहँदा बजेट वक्तव्यमा घोषणा भएको ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ कार्यान्वयनका लागि सरकारले जेठ १ गते कार्यविधि जारी गरेको हो ।
कार्यविधिअनुसार छानिएका लघु, घरेलु, साना र २० करोड रुपैयाँसम्म स्थिर पूँजी भएका मझौला उद्योगलाई स्वेदशी उत्पादन र रोजगारी प्रवर्द्धनका लागि ब्याज अनुदान र प्रविधि हस्तान्तरण गरिनेछ । छनोट हुने उद्योगले लिएको कर्जामा लाग्ने ब्याजमध्ये ५ प्रतिशत अनुदान दिने र महिला मात्रै सञ्चालक रहेको उद्योगले लिएको कर्जाको हकमा ६ प्रतिशत ब्याज अनुदान दिने नीति सरकारको छ । सरकारले बजेटमा यो कार्यक्रमका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।



