प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउने चाहना व्यक्त गरेका छन्। ठूलो भनेको वास्तविक जुट्न सक्ने स्रोत र हुन सक्ने खर्चको भन्दा धेरै भनिएको हो।
प्रधानमन्त्रीको चाहना अनुसार राष्ट्रिय योजना आयोगले यसपालि बजेटको सिलिङ बढाउने तयारी गरेको छ। आयोगले आगामी वर्षको बजेट बनाउन माघ १५ गतेभित्र सिलिङ दिनु पर्ने हुन्छ। त्यति बेला १८ खर्ब रूपैयाँको सिलिङ दिइएको थियो।
बजेटको सिलिङ तोक्ने बेला कांग्रेससहितको सत्ता गठबन्धनको सरकार थियो। त्यो समयमै २२ खर्ब रूपैयाँसम्मको बजेट ल्याउन सकिने भए पनि १९ खर्ब रूपैयाँ बराबरको सिलिङ तोक्नु पर्ने प्रधानमन्त्रीको भनाइ थियो। अर्थ मन्त्रालयले स्रोत नपुग्ने भन्दै अधिकतम १८ खर्ब रूपैयाँ भनेको थियो। अझ अर्थले आन्तरिक रूपमा त १६ खर्ब ८७ अर्ब रूपैयाँको मात्रै स्रोत निकालेको थियो।



