काठमाडौं : सरकारले तिर्न बाँकी सार्वजनिक ऋण १ महिनामा ११ अर्ब ६४ करोड रुपैयाँले बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब ४३ करोड १६ लाख रुपैयाँ रहेको छ । यसअघि चैत मसान्तसम्म भने सरकारले तिर्नुपर्ने ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड २१ लाख रुपैयाँ रहेको थियो ।
वैशाख मसान्तसम्म तिर्न बाँकी कुल ऋणमध्ये ११ खर्ब ८४ अर्ब ४८ करोड ४ लाख रुपैयाँ आन्तरिक ऋण रहेको छ भने १२ खर्ब १२ अर्ब ९५ करोड १२ लाख रुपैयाँ बाह्य ऋण रहेको छ । गत असार मसान्तसम्म तिर्न बाँकी कुल ऋण २२ अर्ब ९९ करोड ३५ लाख २५ हजार रुपैयाँ रहेकामा १० महिनामा ९८ अर्ब ८ करोड रुपैयाँ ऋण थपिएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाखसम्मको सार्वजनिक ऋण कुल ग्राहस्थ उत्पादनको आधारमा ४२% हुन जान्छ ।



