आव २०८१/०८२ को बजेट निर्माण प्रक्रिया अन्तिम चरणमा पुग्दैछ। यसले सामान्यतः आगामी आर्थिक वर्षमा गरिने सार्वजनिक खर्चको क्षेत्र तथा परिमाण र ती खर्च व्यहोर्ने आयका स्रोत तथा तिनीहरूबाट जुटाइने रकमको फेहरिस्त दिने भए पनि मुलुकको दिगो आर्थिक विकासका लागि आगामी वर्षहरूमा अपनाउँदै जानुपर्ने कर सुधारको संकेत पनि बजेटले दिनु उपयुक्त हुन्छ।
प्रसिद्ध अर्थशास्त्री एडम स्मिथले २ सय ४८ वर्षअगाडि राम्रो कर प्रणाली स्थिर तथा अनुमान गर्न योग्य हुनुपर्ने भनेर प्रतिपादन गरेको सिद्धान्त अहिलेसम्म विश्वभर स्वीकार्य हुँदै आएको छ। कर प्रणाली स्थिर तथा अनुमान गर्न योग्य भएमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई आफ्नो कारोबारसम्बन्धी दीर्घकालीन सोच बनाई कार्यान्वयन गर्न सहज हुने भएकाले त्यस्तो कर प्रणालीले मुलुकमा उपयुक्त लगानी तथा व्यावसायिक वातावरण सिर्जना गरेर दिगो आर्थिक विकासको सम्भावना बढाउँछ।



