सुवास निरौला
अर्थमन्त्री वर्षमान पुनले शेयर बजारको विषयमा नेपाल राष्ट्र बैंकसँग कुरा गर्ने भएका छन्। उनले आउने साता शेयर बजारको विषयमा केन्द्रीय बैंकसँग कुरा गर्न लागेको अर्थमन्त्री पुनले बताए।
अर्थमन्त्रीले शेयर बजार र समग्र अर्थतन्त्रलाई सहयोग पुग्ने हिसाबले कुराकानी गरिरहेको र त्यसलाई थप माझ्ने गरी बृहत् छलफल गर्न खोजिरहेको यस अघि उद्योग वाणिज्य महासंघले आयोजना गरेको प्रि-बजेट छलफलमा समेत बताएका थिए। “बजेट लेखन एउटा तहमा पुगिसकेपछि नेपाल राष्ट्र बैंकसँग अलि गहन रुपमा छलफल गर्छौं। हुन त अहिले पनि छलफलमै छौ। तर अहिले भन्दा बिस्तृत रुपमा छलफल गर्ने हाम्रो योजना छ,” पुनले प्रि-बजेट छलफलमा भनेका थिए।
बजेट लेखन कार्य भइरहेको छ। त्यसमा शेयर बजारको विषय पनि लेखिन लागेकोले बजेटमा लेख्नु भन्दापूर्व राष्ट्र बैंकसँग कुरा गर्न लागेको उनको भनाई छ। “बजेटमा लेखौला तर उता राष्ट्र बैंकको मौद्रिक नीतिले सम्बोधन गरेन भने त्यसको कुनै अर्थ हुँदैन। जसले गर्दा राष्ट्र बैंकसँग पहिले नै छलफल गर्न लागिएको हो,” पुनले भने।
अर्थमन्त्रीलाई भेट्न गएका सबैजसो लगानीकर्ताले केन्द्रीय बैंकको नीतिका कारण शेयर बजारको अवस्था खराब रहेको बताउने गरेका छन्। उता पछिल्लो समय सरोकारवाला निकायसँग पूँजी बजारको सुधारको लागि मागिएको सुझावमा समेत घुमाउरो पाराले केन्द्रीय बैंकले लिएको नीतिका कारण शेयर बजार खस्किएको सुझाव आएपछि अर्थमन्त्रीले राष्ट्र बैंकसँग कुरा गर्न चाहेका हुन्।



