श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले गैरकानुनी माध्यमबाट वैदेशिक रोजगारीमा गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्नका लागि छुट्टै कोष स्थापना गर्ने तयारी गरिएको बताएका छन् । शनिबार सुर्खेतमा आयोजित पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् ।
हालको व्यवस्था अनुसार श्रम मन्त्रालयले श्रम स्वीकृति लिएर जाने श्रमिकलाई मात्रै उद्धार गर्दे आएको छ । विदेशमा जाने श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको कोष मार्फत जोखिममा परेका यस्ता श्रमिकको उद्धार गरिदै आएको छ । तर, गैरकानुनी रुपमा गएका श्रमिकलाई उद्धार गर्ने कोष भने सरकारसँग छैन । “गैरकानुनीमा रुपमा गएका श्रमिक पनि नेपाली नागरिक नै हुन् । उनीहरुको उद्धार गर्नु सरकारको दायित्व हो । त्यसैले छुट्टै कोषको व्यवस्था गर्नका लागि आगामी बजेटमा व्यवस्था गर्न अर्थमन्त्रालयसँग प्रस्ताव गरेका छौ,” उनले भने ।


