काठमाडौँ — नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले धेरै विद्युत खपत गर्ने उद्योगहरूलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराइ विद्युत्को आन्तरिक खपत बढाउने नीति अवलम्बन गर्नुपर्ने बताएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २२औं साधारण सभामा बोल्दै अग्रवालले बिजुली आयातबाट वर्षायाममा निर्यातसँगै आन्तरिक खपतमा जाेड दिए ।
मुलुकका उद्योगहरु दैनिक १६ घण्टासम्म लोडसेडिङ खेपिरहेको समेत उनले बताए । सरकारको राजस्वमा औद्योगिक क्षेत्रको योगदान ४५ प्रतिशत रहेको बताउँदै अग्रवालले उद्योगहरुबाट हुने विद्युत्को खपत बढ्न आवश्यक रहेको जनाए । ‘औद्योगिक क्षेत्रबाट विद्युतको आन्तरिक खपत बढाउनमा अहिलेको भन्दा बढी योगदान होस् भन्ने चाहने हो भने नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणालीमा सुधार र नियमित/निर्वाध स्तरीय विद्युत आपूर्ति गर्न पनि जरुरी छ,’ उनले भने ।


