५ वर्षमा गरिबी १२ प्रतिशतमा झार्ने महत्त्वाकांक्षी लक्ष्य


  • Himalayan Bank Limited (HBL)
५ वर्षमा गरिबी १२ प्रतिशतमा झार्ने महत्त्वाकांक्षी लक्ष्य

काठमाडौँ — आगामी पाँच वर्षमा मुलुकको निरपेक्ष गरिबी आधा घटाउने, प्रतिव्यक्ति आय दोब्बर बनाउने, बेरोजगारी दर पाँच प्रतिशतमा झार्नेलगायत महत्त्वाकांक्षी लक्ष्यसहित सरकारले सोह्रौं पञ्चवर्षीय योजना पारित गरेको छ । मन्त्रिपरिषद् बैठकले मंगलबार आर्थिक वर्ष ०८१/८२ देखि ०८५/८६ सम्मका लागि बनाइएको १६औं पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको हो ।

नयाँ योजनामा हाल २०.३ प्रतिशत रहेको निरपेक्ष गरिबी आर्थिक वर्ष ०८५/८६ सम्ममा १२ प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । यसमा सात प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि गर्ने, प्रतिव्यक्ति आय २ हजार ४१३ अमेरिकी डलर पुर्‍याउने, बेरोजगारी घटाएर पाँच प्रतिशतमा झार्ने, औसत आयु ७३ वर्ष पुर्‍याउनेलगायत महत्त्वाकांक्षी लक्ष्य छन् । आगामी पाँच वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा राजस्व अनुपात २७.९ प्रतिशत, संघीय खर्च ३४.४ प्रतिशत, सरकारी ऋण ३९ प्रतिशत कायम गर्नेलगायत लक्ष्य पनि योजनामा छन् । नयाँ योजनामा तय भएको सात प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर नै महत्त्वाकांक्षी रहेको अर्थविद् बताउँछन् ।

Read More