अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनबाट आयात हुने सामानमा शतप्रतिशतसम्म आयात कर लगाएका छन्। यो विभिन्न वर्गहरूमा फरक छ। यसले चीनका लागि नयाँ चुनौती सिर्जना गरेको छ भने विश्वका लागि चीन–अमेरिकाबीच व्यापार युद्धको पुनः सुरु हुने आशंका गहिरिएको छ।
यसले गर्दा युद्ध र अस्थिरताको संकटबाट गुज्रिरहेको विश्वका लागि नयाँ आर्थिक संकटको जोखिम पनि बढेको छ।
अमेरिकामा यसै वर्षको अन्त्यसम्ममा राष्ट्रपतिको निर्वाचन हुँदैछ। निर्वाचन अघि नै चीनप्रतिको आफ्नो शत्रुतालाई प्रष्ट पार्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनबाट अमेरिका पुग्ने विभिन्न वस्तुमा करको दर बढाएका छन्। उनले सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मा पोस्ट गर्दै यसबारे जानकारी पनि दिएका हुन्।
यी चिनियाँ सामानहरू महँगो हुनेछन्
अमेरिकी राष्ट्रपति जो बाइडेनको पोष्टअनुसार अबदेखि चीनबाट आयात हुने स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लाग्ने भएको छ। जबकि सेमीकन्डक्टरहरू ५० प्रतिशत करसहित अमेरिका पुग्नेछन्। त्यस्तै, विद्युतीय सवारी साधनमा शत प्रतिशत र सोलार प्यानलमा ५० प्रतिशत कर लाग्ने भएको छ ।



