काठमाडौँ — सरकारको अनुरोधमा मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स (मुहान क्षेत्र) स्थानान्तरण गर्न एसियाली विकास बैंक (एडीबी) ले दुई अर्बभन्दा बढी अनुदान दिने भएको छ । हालको हेडवर्क्सबाट करिब एक किमिमाथि सिन्धुपाल्चोकको हेलम्बुस्थित सर्कथलीमा नयाँ संरचना बनाउन चार अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान छ । उक्त लागतको करिब ५० प्रतिशत अर्थात् बाँकी रकम भने एडीबीले ऋण उपलब्ध गराउने सहमति भएको हो ।
सरकारले नयाँ हेडवर्क्सको सबै लागत अनुदानका रूपमा उपलब्ध गराउन एडीबीलाई अनुरोध गरेको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जनाए । तर एडीबीले दुई अर्ब मात्र अनुदान दिने भएको हो । एडीबी मेलम्चीको मुख्य ऋणदाता हो । उक्त आयोजनाका लागि मेलम्चीको सुरुङ, हेडवर्क्स, प्रवेशमार्ग, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, उपत्यकाको पाइपलाइनसहितको संरचना निर्माणमा ६० अर्बभन्दा बढी खर्च भइसकेको छ ।


