काठमाडौं : जलवायुजन्य विपद्हरूबाट नेपालले करिब ४ खर्ब १५ अर्ब ४४ करोड रुपैयाँबराबरको आर्थिक नोक्सानी व्यहोरेको छ। विगत पाँच वर्षमा नेपालले ४ खर्बभन्दा बढीको आर्थिक क्षति व्यहोरेको राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण, २०७९ ले देखाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्ने हो भने जलवायुजन्य विपद्हरूबाट नेपालले वार्षिक करिब ८३ अर्बबराबरको आर्थिक क्षति व्यहोर्दै आएको छ। दोस्रो पारिवारिक (हाउस होल्ड) सर्वेक्षणका अनुसार जलवायुजन्य विपद्हरूबाट सबैभन्दा बढी सहरी क्षेत्रमा आर्थिक क्षति भएको छ। सहरी क्षेत्रमा विगत पाँच वर्षमा २ खर्ब १८ अर्ब ८२ करोड रुपैयाँबराबरको आर्थिक क्षति भएको छ भने ग्रामीण क्षेत्रमा १ खर्ब ९६ अर्ब ६२ करोड रुपैयाँको आर्थिक क्षति भएको छ।



