काठमाडौं : चालु आर्थिक वर्ष सुरुवातदेखि महिनैपिच्छे विदेशी विनिमय सञ्चिति क्रमशः थुप्रिँदै गएको छ। आर्थिक वर्ष २०८०/०८१ को ९ महिनासम्ममा कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। जबकि गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो।
हाल भएको सञ्चितिको कुल गार्हस्थ्य उत्पादन अनुपातहरू ३३.५ प्रतिशत हो। गत असार यता २४.२ प्रतिशतले वृद्धि भएको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० चैत मसान्तमा २२.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ३६ करोड डलर पुगेको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो देखाएको हो। कुल सञ्चितिमध्ये केन्द्रीय बैंकमा १६ खर्ब ८८ अर्ब २१ करोड छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २ खर्ब २३ अर्ब ६५ करोड छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत छ भने बाँकी अन्य मुद्रा रहेको छ।



