चितवन् : प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् ।
नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताए ।
“पूर्वाधार विकाससँगै ग्रामीण अर्थतन्त्रको सवलीकरण, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनासँग सम्बन्धित भएर एकीकृत ढाँचाको परियोजना सञ्चालन गर्नु आजको राष्ट्रिय आवश्यकता हो”, प्रधानमन्त्री दाहालले भने, “यही यथार्थलाई दृष्टिगत गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीसम्बन्धी विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।”



