आफ्नो देशमा चलिरहेको चुनावी गतिविधिलाई देखाएर भारतले विस्फोटकको निकासी पदार्थ रोक्दा ४७ वटा जलविद्युत् आयोजनाको काम ठप्प भएको छ । वर्षा सुरु हुन लागिसकेको र अब एक महिना मात्रै काम गर्न सकिने भए पनि विस्फोटक पदार्थको आपुर्ति रोकिँदा जलविद्युत परियोजनाको काम ठप्प जस्तै भएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले जनाएको छ ।
विस्फोटक पदार्थ रोकिएर काम ठप्प भएपछि इप्पानले कुटनीतिक पहलका लागि सरकार गुहारेको छ । मुख्य सचिव बैकुण्ठ अर्याल, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुशिलचन्द्र तिवारी र परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साईलाई पत्र लेखेरै इप्पानले विस्फोटक पदार्थको आपुर्ति रोकिँदा ४७ जलविद्युत् आयोजनाको काम प्रभावित भएकाले कुटनीतिक पहल गरिदिन आग्रह गरेको छ ।


