काठमाडौं। बढ्दो विप्रेषण र घट्दो आयातका कारण देशको चालू खाता बचत उच्च भएको छ । देशभित्रको आर्थिक गतिविधिमा शिथिलता आएका कारण आयात घटेको केही साताअघि राष्ट्रिय तथ्यांक कार्यालयले बताएको थियो । यही बेला चालू खाता बचत उच्च रहेको तथ्यांक नेपाल राष्ट्र बैंकले आइतवार प्रकाशित गरेको छ ।
केन्द्रीय बैंकले आइतवार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार चालू आर्थिक वर्ष (आव) २०८०/८१ को चैतसम्ममा चालू खाता १ खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको यही अवधिमा चालू खाता ६० अर्ब ४३ करोड रुपैयाँले घाटामा थियो । देशको वैदेशिक कारोबार– आयातनिर्यात, वैदेशिक सहयोग तथा विप्रेषण, वैदेशिक लगानी प्राप्ति तथा विदेशी लगानीकर्ताले लाभांशको रूपमा फिर्ता लैजाने रकमको हिसाब चालू खातामा राखिन्छ ।



