वीरगञ्ज। भारतले खानेतेल आयातमा शून्य भन्सार नीति लिएपछि भारतीय बजारलाई लक्षित गरी खुलेका स्वदेशी तेल उद्योगहरूको लगानी संकटमा परेको छ । स्वदेशका यस्ता ३० ओटा उद्योगको १५ अर्ब रुपैयाँ लगानी धराशयी हुनबाट जोगाउन कच्चा पदार्थको आयातमा सहुलियत दिइनुपर्ने माग उद्योगीहरूले गर्दै आएका छन् ।
सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटबाटै महशुल छूटसम्बन्धी नीति ल्याउनुपर्ने आग्रह उद्योगीको छ । स्वदेशी बजारमा चर्को प्रतिस्पर्धाको चेपुवामा परेका उद्योगीले कच्चा पदार्थको आयातमा भन्सार महशुल छूट पाए संकटग्रस्त उद्योगलाई केही राहत हुने बताए । सरकारले गत आव २०७९/८० मा कच्चा (अर्धप्रशोधित) तेल आयातको भन्सार महशुलमा ९० प्रतिशत छूट दिएको थियो । त्यसबेला निकासी र आन्तरिक बजारमा केही राहत भएकोमा चालू आव २०८०/८१ को बजेटले त्यो सहुलियत हटाइदिएको थियो ।



