सुवास निरौला
बजेटलाई टार्गेट गर्दै दोस्रो बजारमा शेयर किन्ने क्रम सुरु भएको छ। शेयर बजार घटेको मौका छोप्दै लगानीकर्ताले बजेटलाई टार्गेट गर्दै शेयर किन्न थालेका हुन्।
‘अहिले जति पनि लगानीकर्ताले शेयर किनिरहेका छन् उनीहरूले बजेटलाई टार्गेट गर्दै शेयर किनिरहेका छन्। अझै यति बेला शेयर बजार घटेको मौका बायरले छोपिहेरेका छन्’ एक ब्रोकर कम्पनीका सञ्चालकले मेरो लगानीसँग भने।
ती ब्रोकर कम्पनीका सञ्चालकका अनुसार शेयर बजारमा सिजनल शेयर खरिद बिक्री गर्ने लगानीकर्ता हुने गर्छन्। जसले वर्षमा दुई पटक शेयर बजारमा खरिद आदेश बढाउने गर्छन्। सिजनल वायर बजेट पूर्व शेयर बजार प्रवेश गर्छन्। बजेट पूर्व प्रवेश गरेका लगानीकर्ता मौद्रिक नीति पछि बाहिरिने गर्छन्। मौद्रिक नीति पछि बाहिरिएका लगानीकर्ता फेरि दसैँ तिहार र छठ पर्व पछि शेयर बजार प्रवेश गर्छन्। छठ पर्व पछि बजार पसेका लगानीकर्ता फागुनको अन्तिमसम्म निस्किसक्छन्। वर्षमा यही दुई पटक शेयर बजारमा राम्रो पैसा खन्याउँछन्। अहिले बजेट आउन धेरै समय छैन। दुई साता पछि बजेट सार्वजनिक हुन्छ। किनकि नेपालको संविधानमा नै जेठ १५ गते बजेट ल्याउनु पर्ने मिति किटान गरिएको छ। जसको कारण सरकारले जेठ १५ गते नै बजेट सार्वजनिक गर्दै आएको छ।
बजेट अघि शेयर बजारमा लगानीकर्ता प्रवेश गरेसँगै शेयर सूचक पनि माथिल्लो बिन्दु तर्फ जाने गर्छ। गत वर्षहरूका तथ्याङ्कले पनि सो कुरा प्रमाणित गर्छन्। गत वर्ष पनि बजेट अघि लगानीकर्ता शेयर बजार प्रवेश गरेका थिए। जसका कारण शेयर बजार समेत बढेको थियो। गत वर्ष जेठ एक गतेदेखि शेयर बजार बढ्न सुरु गरेको थियो। वैशाखको अन्तिमसम्म १८१८.३१ बिन्दुमा रहेको सूचक जेठ लागे सँगै बढ्न सुरु गरेको थियो। त्यसपछि बजार एकै पटक मौद्रिक नीति आए पश्चात् साउनपछि मात्रै घटेको थियो। गत वर्ष जेठदेखि बढेको बजार २२२७ अंकसम्म उक्लिएर घट्न सुरु गरेको थियो। यसरी जेठमा बढ्न सुरु गरेर साउन अन्तिम पछि घट्न सुरु हुने क्रम गत वर्ष मात्रै देखिएको होइन, त्यस भन्दा अघिल्ला वर्षहरूमा पनि बजारले त्यस्तै प्रदर्शन गरेको तथ्याङ्कमा देखिन्छ।





