काठमाडौँ — चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा आगामी जेठमा मात्र जारी हुने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, ०७३ संशोधनमार्फत त्रैमासिक समीक्षा अवधि १५ दिन बढाएर ४५ दिन पुर्याएको हो । यसअघि त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गरिने व्यवस्था थियो ।
कहिलेकाहीँ आवश्यक तथ्यांक तोकिएको समयमा नआउने भएकाले त्रैमासिक समीक्षा अवधि १५ दिन बढाएर ४५ दिन बनाइएको नेपाल राष्ट बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । ‘त्रैमास सकिएको ४५ दिनभित्र भनिएको छ, यसको अर्थ आवश्यक तथ्यांक प्राप्त भएपछि छिटो नै समीक्षा जारी हुन्छ,’ उनले भने, ‘कहिलेकाहीँ समयमा तथ्यांक उपलब्ध नभएको अवस्थालाई दृष्टिगत गरी ४५ दिन बनाइएको हो ।’ कार्यविधि धेरै महिनाअघि नै संशोधन भए पनि अहिले सार्वजनिक मात्र गरिएको उनले प्रस्ट्याए ।


