मर्जर र बोनस शेयर घोषणाले पनि नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी नपुगेपछि बीमा कम्पनीहरु धमाधम हकप्रद शेयर घोषणामा लागेका छन्। मर्जरमा गएका बीमा कम्पनीहरुलाई पूँजी पुर्याउन केही हदसम्म सजिलो भए पनि मर्जरमा नगएका कम्पनीहरुलाई भने अझै पनि पूँजी पुर्याउन हम्मे हम्मे नै परेको छ।
बीमा प्राधिकरणको चाहना अनुसार धेरै बीमा कम्पनीहरु मर्जरमा गए पनि केही कम्पनीहरुले भने हकप्रदलाई नै पूँजी वृद्धि गर्ने विकल्प बनाए। मर्जरमा नगएका बीमा कम्पनीलाई ३० प्रतिशतभन्दा बढी हकप्रद निष्काशन गर्न नदिने अडानमा रहेको प्राधिकरण विस्तारै लचिलो बन्दै गएको देखिएको छ।
हुन त बीमा कम्पनीहरुले कम्पनी मर्जर बाहेक रणनीतिक साझेदार ल्याउने, बीमा कम्पनीको सम्पत्ति बिक्री गरेर पूँजी पुर्याउने र अन्तिम विकल्पको रुपमा हकप्रद शेयर निष्काशन गर्ने गरी पूँजी वृद्धि योजना प्राधिकरणमा पेश गरेका थिए। अधिकांश बीमा कम्पनीहरु मर्जरको विकल्पमा गए पनि रणनीतिक साझेदार ल्याउने र जग्गा बिक्री गर्ने मामिलामा भने फेल नै भए।



