काठमाडौँ — नेपालको वित्तीय स्थायित्व र वित्त सेवामा पहुँच वृद्धिका लागि अन्तर्राष्ट्रिय दातृ निकाय विश्व बैंकले ८ करोड अमेरिकी डलरको कर्जा स्वीकृत गरेको छ । बैंकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले सोमबार नेपालका लागि विकास नीति सहायताअन्तर्गत वित्तीय सेवाको विविधिकरण लगायत क्षेत्रमा करिब १० अर्ब ६६ करोड रुपैयाँ बराबरको कर्जा स्वीकृत गरेको हो ।
यो सहायतामार्फत निजी क्षेत्रका वित्तीय सेवाहरूको सुदृढिकरण गर्ने लक्ष्य लिइएको विश्व बैंकको विज्ञप्तिमा उल्लेख छ । ‘यसले नेपालको बैंकिङ र बीमा क्षेत्रको सुपरिवेक्षण सुदृढ बनाउनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘पूँजी, बीमा र प्रकोप विपद् जोखिमतर्फका वित्तीय नवप्रवर्तनहरूलाई पनि बढावा दिनेछ ।’ डिजिटाइजेसन, कर्जा पूर्वाधारमार्फत वित्तीय समावेशीकरणसँगै वित्तीय साक्षरता र महिला उद्यमशिलतालाई प्रवर्द्धन गरिने लक्ष्य राखिएको छ ।


